२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ थपियो


सञ्चार डबली
  • मंगलबार, जेठ ६ २०८२
  • 4.9K
    SHARES

  • images
     सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ थपियो


    काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्ममा सार्वजनिक ऋण पौने दुई खर्ब रुपैयाँ थपिएको छ । यो वर्ष वैशाख मसान्तसम्ममा सार्वजनिक ऋण १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ थप भएको हो । चालु आवको शुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । थपिएको सहित कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब २२ अर्ब ४० करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यो ऋण कुल गार्हस्थ उत्पादनको ४२.९४ प्रतिशत हो ।

    कुल सार्वजनिक ऋणमा वैशाख मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत पुगेको छ भने आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत छ । सरकारले विगतदेखि नै राजस्व बढाउन नसक्दा बजेट घाटा पूर्ति गर्न सार्वजनिक ऋण उठाउँदै आएको छ । घाटा बजेट पूर्ति गर्न रहेक वर्ष सरकारले सार्वजनिक ऋण बढाउँदै लगिरहेको छ । सोही कारण सरकारको सार्वजनिक ऋण पनि उकालो लाग्दै गएको छ ।

    चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोडबराबरको बजेट ल्याएको सरकारले १४ खर्ब १९ अर्ब राजस्व र ५२ अर्ब अनुदानको लक्ष्य राखेको छ । यसबाहेक बाँकी सबै सार्वजनिक ऋण उठाएर स्रोत जुटाउने लक्ष्य राखिएको हो । सरकारले बजेटमा राखेको लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन भने अनुदान पनि आधा आउने अवस्था छैन । सोही कारण सरकारलाई खर्च व्यहोर्न सार्वजनिक ऋण उठाउनुको विकल्प पनि छैन ।

    चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋण ५ खर्ब ४७ अर्ब लिने लक्ष्य राखेको छ । यसमा बाह्य ऋण २ खर्ब १७ अर्ब लिने लक्ष्य छ । यस्तै, आन्तरिक ऋणको लक्ष्य ३ खर्ब ३० अर्ब रहेको छ । यसमध्ये वैशाख मसान्तसम्म ३ खर्ब ९० अर्ब ८३ करोड प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ७१.४५ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार सरकारले अबको बाँकी दुई महिनामा १ खर्ब ५६ अर्ब १६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउनु पर्नेछ । यो अवधिमा आन्तरिक ऋण प्राप्ति ३ खर्ब १ अर्ब १४ करोड रुपैयाँ भएको छ । यो वार्षिक लक्ष्यको ९१.२५ प्रतिशत हो । यस्तै, बाह्य ऋण ८९ अर्ब ६८ करोड रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको ४१.३३ प्रतिशत हो ।

    कार्यालयका अनुसार वैशाखसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँमध्ये १२ खर्ब ६६ अर्ब ७० करोड आन्तरिक र १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ बाह्य ऋण पुगेको छ ।

    वैशाख महिनामा सार्वजनिक ऋण प्राप्ति भन्दा साँवा भुक्तानी बढी गरिएकोले अघिल्लो चैतको तुलनामा कुल सार्वजनिक ऋण दायित्व घटेको कार्यालयले जानकारी दिएको छ । गत चैतको तुलनामा वैशाख मसान्तको तिर्न बाँकी सार्वजनिक ऋण ४४ अर्ब ८६ करोड रुपैयाँले कम हो । चैत मसान्तमा यस्तो ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ थियो ।

    यो अवधिमा सरकारले संकलन गरेको नयाँ ऋणभन्दा पुरानो ऋणको साँवा भुक्तानी धेरै गरिएकाले चैतको तुलनामा वैशाखमा सार्वजनिक ऋण करिब ४५ अर्बले घटेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार वैशाखमा सार्वजनिक ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी गरिएकाले अघिल्लो महिनाको तुलनामा गत वैशाखमा सार्वजनिक ऋणको दायत्वि घटेको हो । आन्तरिक ऋणको तुलनामा बाह्य ऋणको प्राप्ति कम भएको छ । सरकारले दातृ निकायहरुसँग गरेको सम्झौताअनुरुप आयोजना कार्यान्वयनमा गएर खर्च भएमात्र अनुदान र बाह्य ऋण प्राप्ति हुने हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend