काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४०.१९ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले १० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफामा उल्लेखनीय वृद्धि भएपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि २३ रुपैयाँ १० पैसाबाट बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ४४ करोड ६१ लाख रुपैयाँ रहेको ब्याज आम्दानी चालू वर्षमा करिब ५४ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, सञ्चालन नाफा १५ करोड ३२ लाख रुपैयाँबाट बढेर करिब साढे २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। ग्लोबल आइएमई लघुवित्तको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब ६३ करोड रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६६ पैसा पुगेको छ । यस अवधिसम्म कम्पनीको कुल वितरणयोग्य नाफा ८ करोड ८७ लाख रुपैयाँ रहेको छ। यद्यपि कम्पनीको निष्क्रिय कर्जा अनुपात भने ४.४८ प्रतिशतमा रहेको छ ।


