काठमाडौं । पछिल्लो एक वर्षमा बैंकहरुको खुदनाफा २.१५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैत मसान्तसम्म ४० अर्ब ४६ करोड रुपैयाँ खुदनाफा कमाएका वाणिज्य बैंकहरुले चालु वर्षको सोही अवधि यस्तो नाफा ४१ अर्ब ३२ करोड रुपैयाँ पु-याउन सफल भएका छन् । पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खुदनाफा ८६ करोड ९७ लाख रुपैयाँले थप भएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा सर्वाधिक नाफा नबिल बैंकले कमाएको छभने, एक वर्षको अवधिमा खुदनाफामा सर्वाधिक ग्रोथ नेपाल बैंकले गरेको छ । गत वर्षको चैत मसान्तमा नबिल बैंकले ४ अर्ब ६६ करोड खुद नाफा कमाएकोमा एक वर्षको अवधिमा ८.२१ प्रतिशत नाफा वृद्धि गरी ५ अर्ब ५ करोड पैयाँ कायम गरेको छ ।
उक्त अवधिमा नेपाल बैंकको खुदनाफा २ सय गुणाले वृद्धि भएको छ। गत वर्षको चैत मसान्तमा १३ करोड रुपैयाँ रहेको खुदनाफा चालु वर्षको सोही अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ कायम गरेको छ । यस्तै, समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वटाको खुदनाफा २.२४ प्रतिशतदेखि २ सय गुणासम्मले वृद्धि हुँदा ९ वटाको १ प्रतिशतदेखि ९१.८१ प्रतिशतसम्मले खुद नाफा घटेको छ। एक वर्षको अवधिमा सबैभन्दा बढी खुदनाफा नेपाल बैंकले थप गर्दा एनआइसी एसिया बैंकको सबैभन्दा बढीले नाफामा गिरावट आएको छ ।
नेपाल बैंक, नबिल बैंक र एनआइसी एसिया बैंकबाहेक समीक्षा अवधिमा एभरेष्ट बैंकले ३९.८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले प्रतिशतले वृद्धि गरी ३८.६१ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५४ करोड, ग्लोबल आइएमईले ३७.१२ प्रतिशतले वृद्धि गरी ४ अर्ब ५३ करोड र माछापुच्छ्रेले २८.८९ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ ।
उक्त अवधिमा सानिमा बैंकले २१.३९ प्रतिशतले वृद्धि गरी १ अर्ब ६९ करोड, नेपाल एसबिआइ बैंकले ११.९५ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड, एनएमबि बैंकले ५.८८ प्रतिशतले वृद्धि गरी २ अर्ब ३७ करोड, प्रभुले ३.५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ८७ करोड र लक्ष्मी सनराइज बैंकले २.२४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६५ करोड रुपैयाँ खुदनाफा कमाएको छ।


