काठमाडौँ, माघ ७ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। जस अनुसार बैंक ३. ३३ अर्बले घाटामा छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशत बढेको छ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


