काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि राष्ट्र बैंक एक अर्ब झिक्ने भएको हो। वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः एक खर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकको भनाइ छ। निक्षेप बढिरहेको बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो।
तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्ने छ। निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ।


