मंगलबार, जेठ १६, २०८०
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–५, पानीधारा मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । तीन जना सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइते १७ जनाको पुरानो मेडिकल कलेजमा भरतपुर अस्पताल पठाइएको छ ।
तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किँएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए ।


