१२ जेठ २०८०, शुक्रबार
काठमाडौँ– राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएको छ । राष्ट्रपति पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै फिर्ता पठाएका हुन्।
राष्ट्रपति पौडेलले टीकापुर नरसंहारमा हत्या भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव बोहराकी पत्नी शारदा बोहराले शीतल निवासमा शुक्रबार नै दर्ता गराएको निवेदन पनि गृह मन्त्रालयमा पठाएका छन्। उनले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन् ।
सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि इन्स्पेक्टर पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन्।
टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो ।


