आइतबार, चैत २६, २०७९
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बमुद्दामा अन्तिम सुनुवाइका लागि आज सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने’ हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो । त्यस्तै,चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
सर्वोच्च अदालतले लामिछानेविरुद्धको बलात्कार मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन । गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ ।


