शनिबार, पुस ७, २०८०
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
वर्षा र हिमपातका कारण देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपय अपनाउन सबैमा विभागले अनुरोध छ । आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।


