गोरखा, २६ कात्तिक : गोरखामा आगलागीमा परेर एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोक स्थित एक घरमा गएराती आगलागी हुँदा घरभित्र रहेका आमाछोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागीमा परेर मृत्यु हुनेमा ७५ बर्षकी कान्छी गुरुङ र उहाँका छोरा ३९ बर्षका चन्द्रसिंह गुरुङ रहेको उहाँले बताउनुभयो । ढुङ्गा माटोले बनेको र जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राती आगलागी भएको थियो ।
घटनाको जानकारी प्राप्त भए लगत्तै जगत प्र्रहरी चौकीबाट खटिएर गएको प्रहरीको टोली र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र पसर हेर्दा दुई जनाको शव जलेको अवस्थामा चिन्नै नसकिने गरी भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी भएको खबर थाहा पाउने बित्तिकै घटनास्थलमा पुगेर स्थानियले निभाउने प्रयास गरेको भएता पनि करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको स्थानीयको भनाई छ । घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदको नेतृत्वमा एकटोली अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको छ ।
आगलागीको कारण खुल्न बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चिसोका कारण न्यानो बनाउन घर भित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।


