शुक्रबार, साउन २६, २०८०
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दोस्रो अधिवेशनको ४७औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने तय छ । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।
सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् । उनले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदनसमक्ष पेस गर्नेछन् ।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सभामुख घिमिरेले १० वा सो भन्दा बढीपटक बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसदको अवरोधका कारण पछिल्लो समय बैठक प्रभावित हुँदै आएको छ । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने एमालेको माग छ । सो माग पूरा नभएसम्म बैठक चल्न नदिने एमाले सांसदको अडान छ ।


