२५ श्रावण २०८०, बिहीबार
काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो। पक्राउ परेका सांसद शर्माको सांसद पद पनि धरापमा परेको छ ।
नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा उनलाई प्रक्राउ गरिएको स्रोतको भनाइ छ। मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए। शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।
सोही व्यवस्थाअनुसार सीआईबीले सभामुख देवराज घिमिरेलाई शर्मा पक्राउको सूचना दिइसकेको छ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ अनुसार संविधानको धारा ३ अनुसार कुनै सदस्य पक्राउ परेको सूचना प्राप्त भएपछि सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनुपर्ने प्रावधान रहेको छ ।
सोही नियमको उपनियम ३ मा कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेमा वा फरार रहेमा निलम्बन गरिने व्यवस्था रहेको छ । यो व्यवस्थाअनुसार सांसद शर्मा निलम्बन हुन सक्नेछन् ।


