काठमाडौँ / निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा रकम करिब ८ अर्ब पुगेकाे छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंककाे नाफा ३३.५० प्रतिशतले बढेको हाे। बैंकले समीक्षा अवधिमा ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार रुपैयाँ रहेको थियो।
समग्र वित्तीय सूचकलाई हेर्दा नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा, वितरणयोग्य नाफा, कर्जा तथा निक्षेप विस्तार र सञ्चालन नाफालगायतका प्रमुख सूचकमा सुधार गरेको देखिन्छ।
नाफामा भएको उच्च वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी, वितरणयोग्य नाफा तथा सञ्चालन नाफामा समेत सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा २१.८९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर समीक्षा अवधिमा २८.३६ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा नबिल बैंकका शेयरधनीका लागि महत्त्वपूर्ण मानिने वितरणयोग्य नाफा समेत उल्लेख्य रूपमा बढेको छ। समीक्षाा अवधिमा यस्ताे नाफा ३४.०७ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा भने याे नाफा ३ अर्ब ८५ करोड ५५ लाख ६ हजार रुपैयाँ रहेको थियो।
यससँगै बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १९.१० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको यस्तो क्षमता १४.२५ रुपैयाँ रहेको थियो। वितरणयोग्य नाफामा भएको ३४ प्रतिशतभन्दा बढीको वृद्धिले आगामी लाभांशका लागि बैंकको आधार बलियो भएको देखिन्छ।
नबिल बैंकले समीक्षा अवधिमा आफ्नो बैंकिङ व्यवसायलाई पनि विस्तार गरेको छ। बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि गरेको वित्तीय विवरणले देखाएको हाे।
बैंकले कुल ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.९५ प्रतिशतको वृद्धि हो।
त्यस्तै, बैंकको कर्जा प्रवाह १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ पुगेको छ। कर्जा लगानीको आकार विस्तार भएसँगै बैंकको व्यवसायको समग्र आकारसमेत बढेको देखिन्छ।
बैंकको खुद ब्याज आम्दानी १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ। यसमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.१८ प्रतिशतको वृद्धि भएको छ। यसैगरी, सञ्चालन नाफामा समेत सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले पनि नाफा वृद्धिमा सहयाेग पुगेकाे देखिन्छ । अघिल्लो आर्थिक वर्षमा सम्भावित ऋण नोक्सानीका लागि बैंकले ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको बैंकले समीक्षा अवधिमा २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा सीमित राखेकाे छ ।
त्यस्तै, बैंकले खराब कर्जा अर्थात् निष्क्रिय कर्जा अनुपातमा पनि सुधार गरेको छ। अघिल्लो अवधिमा ४.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर ४.२० प्रतिशत मा आएको छ।
बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ पुगेको छ। यसमा १८.४८ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, बैंकको जगेडा कोष ३९ अर्ब ८४ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकको आधार दरमा पनि कमी आएको छ। अघिल्लो अवधिमा ५.८३ प्रतिशत रहेको बैंकको आधार दर घटेर ४.४४ प्रतिशत मा आएको छ। बैंकको स्प्रेड दर ३.१८ प्रतिशत रहेको छ।



