आइतबार, साउन २१, २०८०
काठमाडौं । देशका केही भू–भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेस प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
नेपालमा अहिले मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ ।


