२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन सुवाश शीर्षस्थानमा


सञ्चार डबली
  • शुक्रबार, असार ५ २०८३
  • 1.4K
    SHARES

  • images
    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन सुवाश शीर्षस्थानमा

    काठमाडौं, असार ३: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुबाश तामाङ समग्रमा १५-अन्डर २ सय १ सहित शीर्षस्थानमा उक्लन सफल भएका छन्। आज सुबाशले ७-अन्डर ६५ को स्कोर सहित लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पारेका हुन्।

    भुवनले आज १-अन्डर ७१ खेल्दा समग्रमा १४-अन्डर २ सय २ सहित दोस्रो स्थानमा तल झरे। शुक्र बहादुर राई र एमेच्योर सदभाव आचार्य समग्रमा १२-अन्डर २ सय ४ सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहे। शुक्रले ४-अन्डर ६८ र सदभावले १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए।

    साबिक विजेता राहुल विश्वकर्मा समग्रमा १०-अन्डर २ सय ६ सहित पाँचौं स्थानमा रहेका छन्। उनले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे। एमेच्योर तेन्जिङ छिरिङ समग्रमा ७-अन्डर २ सय ९ सहित छैटौं स्थानमा रहेका छन्।‌आज उनले २-अन्डर ७० मा खेल सकाए।

    समग्रमा ५-अन्डर २ सय ११ सहित एमेच्योर वाङचेन ढोन्डुप सातौं स्थानमा रहे। उनले आज २-अन्डर ७० खेले। १-अन्डर ७१ सहित समग्रमा २-अन्डर २ सय १४ स्कोरका साथ दिनेश प्रजापति आठौं स्थानमा छन्। समग्रमा १-अन्डर २ सय १५ स्कोर बनाएका निरज तामाङ र सञ्जय लामा संयुक्तरुपमा नवौं स्थानमा रहे। निरजले १-अन्डर ७१ खेल्दा सञ्जयले १-ओभर ७३ मा खेल सकाए।

    सुबाशले बोगी रहित ७-अन्डरको उत्कृष्ट स्कोर बनाउने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले पहिलो, तेस्रो, पाँचौं  र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि ११ औं, १२ औं र १७ औं होलमा एक-एक सट बचाउँदा ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।

    भुवनले तेस्रो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ खेले। यसपछि १० औं र १८ औं होलमा बोगी प्रहार गरेका उनले १६ औं होल‌मा एक सट बचाए। ब्याक नाइन १-ओभर ३७ मा सकाए।

    शुक्रले तेस्रो, पाँचौं, छैटौं, सातौं र नवौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे। आठौं होलको बोगीले फ्रन्ट नाइन ४-अन्डर ३२ खेले। यसपछि ११ औं र १३ औं होलमा एक-एक सट खेर फाल्दा १२ औं र १४ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

    सदभावले पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे पनि चौथो र पाँचौं होलमा बोगी खेपे। आठौं होलको डबल बोगीले फ्रन्ट नाइन १-ओभर ३७ मा पुरा गरे। यसपछि ११ औं होलमा इगलको सफलता प्राप्त गर्दा १३ औं र १८ औं होलमा बर्डी प्रहार गरे। १२ औं र १६ औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए।

    एमेच्योरतर्फ सदभाव सदभाव शीर्षस्थानमा छन्। उनले राहुललाई २ स्ट्रोकले पछि पारे। राहुल दोस्रो, तेन्जिङ तेस्रो र वाङचेन चौथो स्थानमा रहेका छन्।

    अन्तिम १८ होलको खेल भोलि हुनेछ। सिजनकै सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन्। दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। शनिबार प्रो-एम प्रतियोगिता हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend