काठमाडौं, जेठ १७ — नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानका उपलब्धिहरूको रक्षा गर्न पार्टीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले मुलुक फेरि एकात्मक राज्य प्रणालीतर्फ फर्काउने तथा संसदीय व्यवस्थालाई कमजोर पार्ने प्रयास भइरहेको चेतावनी दिए।
पौडेलले संविधानको कार्यान्वयनमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गर्दै उपलब्धिहरू गुमेमा देश पछाडि फर्कने खतरा रहेको बताए। उनले भने, “विगतमा हाम्रै नेतृत्वले पनि संविधानको मर्मअनुसार काम गर्न सकेनौँ, अहिले त संविधान नै समाप्त पार्ने गतिविधि भइरहेको छ।”
काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको स्मरण गर्दै उनले समावेशिता, लोकतन्त्र र सबै समुदायको अस्तित्वलाई सम्मान गर्ने शक्तिका रूपमा काँग्रेसलाई थप मजबुत बनाउनुपर्ने तर्क गरे। पार्टीलाई सबै समुदायलाई जोडेर अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पौडेलले लोकतन्त्रको रक्षा र मौलिकताको जगेर्नाका लागि काँग्रेस शक्तिशाली हुन आवश्यक रहेको धारणा व्यक्त गरे।


