काठमाडौं। कुमारी बैंकले डिजिटल बैंकिङ क्षेत्रलाई थप सहज र ग्राहकमुखी बनाउन ‘कुमारी फोनलोन’ सुविधा सार्वजनिक गरेको छ। यसअन्तर्गत बैंकले ‘मल्टी डिस्बर्सल’ सुविधा सञ्चालनमा ल्याएको हो।
बैंकले डिजिटल कर्जा प्रवाह प्लेटफर्म फोनलोनसँग सहकार्यको घोषणा गरेको छ। यो सेवाले अब ग्राहकलाई आफ्नो आवश्यकताअनुसार कर्जाको सीमाभित्र रहेर पटक–पटक रकम निकाल्ने स्वतन्त्रता दिएको छ।
यसअघि स्वीकृत भएको सम्पूर्ण कर्जा रकम एकैपटक लिनुपर्ने र अर्को कर्जाका लागि पुरानो ऋण चुक्ता गर्नुपर्ने बाध्यता रहेकामा यो नयाँ सुविधाले उक्त झन्झटलाई पूर्ण रूपमा अन्त्य गरिदिएको बैंकको भनाइ छ।
नवीन सेवाअन्तर्गत योग्य ग्राहकले आफूलाई बैंकले तोकिदिएको कुल कर्जा सीमाबाट चाहिए जति मात्र रकम निकाल्न सक्नेछन्। लिइने कर्जाको सबैभन्दा ठूलो विशेषता भनेको ग्राहकले जति रकम प्रयोग गर्छन्, त्यतिमा मात्र ब्याज लाग्नेछ।
बाँकी रहेको कर्जा सीमा भने भविष्यका लागि सुरक्षित रहनेछ। कुनै पनि कागजी प्रक्रिया वा बैंकको शाखासम्म पुग्नु नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत नै यो सुविधा तत्कालै उपभोग गर्न सकिने बैंकले बताएको छ।


