काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ। एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ रूपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो।
यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्ने भएको छ
राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते वैश्विकरूपमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पोरेशनलाइ बैंकले छनौट गरेको हो।
राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को प्रावधान अन्तर्गत रहेर बिहीबार कम्पनीसँग करार सम्झौता पत्र आदान प्रदान गरिएको छ।
यो कामका लागि प्रतिनोट राष्ट्र बैंकले ०.०३९५ अमेरिकी डलर (हालको विनिमय दर अनुसार ५.५३) मुद्रण तथा आपूर्ती खर्च दिनुपर्नेछ। राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर(हालको विनिमय दर अनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ।



