काठमाडौं । देशका कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा हाल मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसकै प्रभावले उक्त क्षेत्रमा हल्का वर्षा हुने उनले बताए ।उक्त क्षेत्रका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले जानकारी दिए ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको उनले बताए । “मोन्थाको प्रभाव हिजै सकियो, अहिले पश्चिमी वायुकै प्रभाव हो ।” अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो ।
आइतबार बिहान सिन्धुपाल्चोक, कास्की, पर्वत, नुवाकोट, संखुवासभालगायत जिल्लामा हल्का पानी परेको छ । यस दिन राति यी प्रदेशका एक/दुई मात्र स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।


