शनिबार, फागुन १२, २०८०
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ । काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरी भएको बच्चा आठ घण्टापछि काँडाघारीबाट उद्धार गरेको हो ।
सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बच्चा चोरी गर्ने महिलाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । “घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामो बसेकी थिइन्,” एक प्रहरी अधिकारीले सञ्चारडवलीसँग भने, “अहिले हामीले उद्धार गरिएको बच्चा आमाबुवालाई जिम्मा लगाइसकेका छौँ ।”
प्रहरीले अनुसन्नका लागि बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएको छ ।


