काठमाडौं, २६ माघ ।
काठमाडौँ । गोरखाको भिमसेनथापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८० को छ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ ।सोमवार आयोजित प्रगति समीक्षा कार्यक्रममा गाउँपालिकाले प्रशासनिक भवन निर्माणदेखि चक्रपथ निर्माणलाई प्रगतिको रुपमा लिएको छ ।
तीन करोड ४० लाख रकम खर्चेर निर्माण भइरहेको प्रशासनिक भवनको काम लगभग सम्पन्न भइसकेको छ भने चपक्रथ निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको पालिकाले जनाएको छ । चालु आर्थिक बर्षको हालसम्म पाँच वटा बिधेयक र कार्यविधि गाउँकार्यपालिकाबाट स्वीकृत गरी लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।
भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण, बृद्धि अनुगमन तथा प्रवद्र्धन सम्बन्धी कार्यविधि २०७९ (संशोधन), गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा संचालन, व्यवसाय दर्ता सम्बन्धी कार्यविधि २०७६ (संशोधन) र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी बिधेयक २०८० स्वीकृत गरी लागू गरिएको हो ।
शिक्षातर्फ शिक्षक दरवन्दी मिलान गरिएको र प्राथमिक तहमा स्वयवसेवक शिक्षकहरु तयार गरिएको,सबै स्वास्थ्य संस्थामा ल्यापटप, डेक्सटप र ट्याब्लेटका साथै इन्टरनेट र सोलार व्याकअप व्यवस्थापन गरेको, सुरक्षित मातृत्व अन्तरगत गर्भवती तथा सुत्केरी महिला र असहायहरुका लागी निशुल्क एम्वुलेन्स सेवा, गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम, सुत्केरी महिलालाई दुग्धवर्धक आयुर्वेदिक औषधी वितरण कार्यलाई निरन्तरता दिदै आएको पाकिलाले जनाएको छ ।
चालु आर्थिक बर्षको पुसमसान्त सम्म खर्च प्रगति ३१.३१ प्रतिशत रहेको पालिकाले जनाएको छ । चालु तर्फ ३६.७९ र पुँजिगत तर्फ १८.४७ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
चालु आव चालु तर्फ ४१ करोड ९० लाख र पुँजिगत तर्फ १७ करोड ८७ लाख गरी कुल बजेट ५९ करोड ७८ लाख रहेको थियो । जसमध्ये हालसम्म १८ करोड ७१ लाख खर्च भइसकेको छ । सबैभन्दा धेरै सामाजिक बिकास तर्फ ३९.१७ प्रतिशत खर्च प्रगति रहेको पालिकाले जनाएको छ ।


