गोरखा, १७ माघ । गोरखाको धार्चे गाउँपालिकामा ऐतिहासिक तातोपानी मेला २०८० सुरु भएको छ । गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले हिजो एक कार्यक्रममका बिच मेलाको उद्घाटन गर्नुभएको हो । रक क्लाम्बिङले मेलामा छुट्दै रौनक छाएको छ । २०२८ सालदेखि यो मेला मनाउन थालिएको हो ।
मेलाको आयोजक तातोपानी क्षेत्र संरक्षण तथा सम्र्बद्धन विकास केन्द्र रहेको छ । धार्चेको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले मेला संचालन गरिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने छ ।
मेलामा भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, यसै वर्षबाट महिलातर्फको भलिबल प्रतियोगिता पनि हुनेछ । भलिबल प्रतियोगितामा करिब २० टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
पुरुषतर्फको भलिबलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५५ हजार र ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । महिलातर्फको भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले भने क्रमश: २० हजार, १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने आयोजकले जनाएको छ ।
मेलामा गोरखाको बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लापु, केरौँजा, काशीगाउँलगायत ठाउँहरुका स्थानीयका साथै देशका विभिन्न जिल्लाका मानिहरुले मेला अवलोकन गर्ने विश्वास गरिएको छ । देशभरका मानिस मेलामा सहभागी हुने आयोजकले जनाएको छ ।


