काठमाडौं । प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले बताएका छन्। शुक्रबारबाट सुरु भएको तीन दिने कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताएकाम हुन्।
उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको जिकिर गरेका छन् । मन्त्री वेदुराम भुसालले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताएका छन् । कृषिमा अबका दिनमा यान्त्रीकरणको महत्व बढ्दै गइरहेको उनको भनाई छ ।
उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो। आजसम्मको हामीले ढुंगे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ। प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ।’
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए। उनले व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण किसानहरु ठगिने गरेको बताए।शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गतेसम्म सञ्चालन हुनेछ।


