शुक्रवार, मंसिर १५ २०८०
काठमाडौँ - प्रभु बैङ्कले ‘बैङ्क अफ दि इयर २०२३’को उपाधि प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैङ्कर’ले सन् २०२३ को ‘बैङ्क अफ दि इयर’ बाट प्रभु बैङ्कलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैङ्कर’ले गर्दै आएको ‘बैङ्क अफ दि इयर’ अवार्ड विश्वव्यापी बैङ्किङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैङ्क अफ दि इयर’ अवार्डलाई बैङ्किङ उत्कृष्टताको मानक अर्थात् ‘बैङ्किङ उद्योगको ओस्कार’ मानिन्छ ।
‘दि बैङ्कर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा बढी बैङ्क मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैङ्कको छनौट गरी ‘बैङ्क अफ दि इयर’बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । बेलायतमा भएको समारोहमा प्रभु बैङ्क सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैङ्कका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अशोक शेरचनले सम्मान ग्रहण गरेका छन् । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैङ्कका अध्यक्ष, सिइओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।
सम्मान प्राप्तीपछि अध्यक्ष सिटौलाले नेपालको बैङ्किङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छ । ‘‘वर्तमान आर्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैङ्किङ क्षेत्रमै हौसला प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ’’ उनले भनेका छन् । त्यस्तै, अवार्ड वितरण समारोहपछि सिइओ शेरचनले प्रभु बैङ्कका सञ्चालक तथा कर्मचारीहरूको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताएका छन् ।
सो अवसरमा उनले बैङ्कको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । २००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफुलाई समयक्रमसँगै सृदृढ, विस्तारित तथा बिभिन्न बैङ्कलाई समाहित गर्दै आजको सफलतासम्म आइपुगेको बैङ्कले जनाएको छ ।
प्रभु बैङ्क आज ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम मार्फत देशव्यापी रुपमा ३१ लाख भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैङ्किङ सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ । २०७९ पुसमा सेञ्चुरी बैङ्क प्रभुमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको हो ।
सेञ्चुरीसहित बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनी गरेर ८ वटा बैङ्क तथा वित्तीय संस्था गाभिएका छन् । हाल प्रभु बैङ्कको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप सङ्कलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगेको छ ।


