काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागिताका लागि सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन्।
शनिबार साँझ सभापति थापाको निमन्त्रणापत्र बोकेर सहमहामन्त्री योगेन्द्र चौधरी र कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेका हुन्। देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी गरेर दुवै जना चुनदेवी गएका थिए।
तर, शनिबार साँझ ६ बजेतिर देउवा निवास पुग्दा भानु देउवा बाहिर निस्किसकेकाले भेट हुन नपाएको कांग्रेसका सहमहामन्त्री चौधरीले बताए। त्यसपछि उनीहरूले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै निमन्त्रणापत्र बुझाएको उनले बताए।
सभापति थापाले पठाएको निमन्त्रणमा पत्रमा महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि आग्रह गरिएको चौधरीले जानकारी दिए। ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनको उदघटनसत्रको प्रमुख आतिथ्य गरिदिन हुन निमन्त्रणापत्र दिएका छौं,’ चौधरीले भने।
महाधिवेशन पनि देउवाबाटै उद्घाटन गराउने योजना रहेको उनको भनाइ छ। तर, देउवा आउने वा नआउने टुंगो लागेको छैन।


