काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् ।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी गएको हो ।
भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग, पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रक्रिया र आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ ।
अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले अमेरिकी निजी क्षेत्रका ठूला लगानीकर्तासँग पनि छलफल गर्नेछन् ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका सडक, विद्युत् तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहयोग जुटाउने विषयमा पनि छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायतका पूर्वाधारमा लगानी बढाएर नेपालमा रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयमा विकास साझेदार तथा निजी क्षेत्रसँग छलफल गरिनेछ ।
अर्थ मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपालका लागि थप विकास सहायता र लगानी भित्र्याउनु तथा आर्थिक अवसर विस्तार गर्नु रहेको छ ।


