काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे संसदलाई जानकारी गराएका छन्।
शुक्रबार, प्रतिनिधि सभाको बैठकमा मन्त्री खनालले महासभामा आफुले मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल गरेको जानकारी दिदै महासभाको ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उल्लेख गरेका थिए ।
उनले प्रधानमन्त्रीको शाहको संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको दावी गर्दै प्रधानमन्त्रीको उक्त सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मुलभूत पक्षहरू उजागर भएको बताए ।
मन्त्री खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्न सफल भएको बताए ।


