काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । शेयरको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो । उक्त निष्कासनमा २३ लाख ५१ हजार ५६० जनाले आवेदन दिएका थिए । जसमध्ये २३ लाख ५ हजार २३३ जनाको आवेदन योग्य ठहरिएको थियो ।
मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
बेनी हाइड्रोपावर प्रोजेक्टले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अपर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० असारदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।
कम्पनीका अध्यक्ष गणेश कार्की हुन् भने सञ्चालकमा यमकुमार श्रेष्ठ, हिरेन्द्रमान प्रधान, सोनाम छेरिङ शेर्पा र पेम्बा गेल्बु शेर्पा रहेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समन मानन्धर हुन् ।


