काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित अघोर बजारनजिक सडक भासिएपछि राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ । सोमबार बिहान करिब ९ः४० बजे सडकको तल्लो भाग भासिएपछि सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय गरी भासिएको स्थानमा अस्थायी बाटो निर्माणको पहल भइरहेको प्रहरीले जनाएको छ ।
सडक व्यवस्थापन तथा सवारी आवागमन सहज बनाउन इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि हेटौंडा–काठमाडौं आवागमनका लागि त्रिभुवन राजपथ वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ । त्यसका कारण पछिल्लो समय त्रिभुवन राजपथमा सवारीसाधनको चापसमेत बढेको छ।


