२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सबै स्थानीय तहमा पुग्यो बैंकिङ सेवा, एभरेष्ट बैंकले साइपालमा गर्‍यो शाखा विस्तार


सञ्चार डबली
  • सोमबार, माघ २८ २०८१
  • 7.5K
    SHARES

  • images
    सबै स्थानीय तहमा पुग्यो बैंकिङ सेवा, एभरेष्ट बैंकले साइपालमा गर्‍यो शाखा विस्तार

    सोमबार, २८ माघ २०८१
    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बझाङको साइपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साइपाल गाउँपालिकाको धलौनमा नयाँ शाखा विस्तार गरेको हो ।

    बैंकको उक्त शाखाको औपचारिक उद्घाटन गर्न सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुगेका थिए । उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशव बहादुर के।सी।, साइपाल गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरू, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरूलगायत स्थानीयबासीको उत्साहजनक उपस्थिती थियो ।

    यो बैंकको १२९औँ शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साइपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय सञ्चालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा क वर्गको बाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।

    भौगोलिक तथा पूर्वाधार बिकासकोे हिसाबले पनि अति दुर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७, ८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने जस्तो कठिन तथा चुनौतीपूर्ण कार्य सफल भएकोमा बैंकले खुशी व्यक्त गरेको छ ।

    त्यस्तै, बैंकले उक्त शाखा स्थापना र सञ्चालन कार्यमा सहयोग गर्ने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ । देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तिय संस्थाको पहुँच पु्र्याउने सरकारको महत्त्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा सञ्चालन गर्न सकेकोमा बैंकले खुशीसमेत व्यक्त गरेको छ ।

    उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको यस शाखाको स्थापनासँगै सङ्घीय राष्ट्रको सम्पुर्ण पालिकामा बैंक पुर्याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताए । साथै अब सानेतिनोे बैकिङ सेवाको लागी पनि सदरमुकाम धाउनुपर्ने साइपालबासीको बाध्यताको अन्त्य भएको बताउँदै अन्य सुविधाहरू पनि बिस्तारै गाँसिदै आउने र यस क्षेत्रको समग्र आर्थिक क्रियाकलाप समेत चलायमान हुने विश्वास व्यक्त गरे ।

    देशकै अग्रणी बैंकको रूपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ़न गई समग्र आर्थिक बिकासमा थप टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

    पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नया दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।

    साइपालमा लामो समयदेखि बैंकिङ सेवा पुर्‍याउने कोसिस गरिए पनि सकिएको थिएन। तर, अब त्यहाँ पनि बैंकिङ सेवा विस्तार भएको छ ।एभरेष्ट बैंकले साइपालमा विस्तार गरेको शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन्।

    यो शाखा विस्तारले आम नागरिकले बैंकिङ सेवा सहज र सरल ढंगले पाउने विश्वास अधिकारीले गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend