२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

तेस्रो लगानी सम्मेलनः  १२५ आयोजना तयार,  ११ सयभन्दा बढीलाई निम्तो


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 8.9K
    SHARES

  • images
    तेस्रो लगानी सम्मेलनः  १२५ आयोजना तयार,  ११ सयभन्दा बढीलाई निम्तो

    तेस्रो लगानी सम्मेलनः  १२५ आयोजना तयार,  ११ सयभन्दा बढीलाई निम्तो
    काठमाडौं । सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनका लागि १२५ आयोजना तयार पारेको छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउन यी योजना तयार पारिएको हो ।

    लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार लगानी सम्मेलनमा लैजानका लागि १२५ वटा आयोजना पहिचान भएका छन् । यसमध्ये तीनवटाको लगानी सम्मेलनका क्रममा परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी छ । सम्मेलनमा नेपाल–चीनमैत्री औद्योगिक पार्क, माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ ।

    यस्तै, डाबर नेपालसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को पनि तयारी छ । सम्मेलनमार्फत विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रूपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ ६ वटा, पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटा आयोजना सोकेसमा लगिँदैछ ।

    निजी क्षेत्रको लगानीका १८ वटा, निजी क्षेत्रमार्फत लगानी प्रवर्द्धन गर्न खोजिएका १२ वटा र अन्य १२ वटा आयोजना पनि ‘सोकेस’मा राखिँदैछन् । दुई दिनसम्म चल्ने सम्मेलनमा १० वटाभन्दा बढी सत्र र ५० जनाभन्दा बढी वक्ता रहने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुनका लागि विभिन्न देश, दातृ निकाय तथा विकास साझेदारबाट एक हजार एक सयभन्दा बढी अतिथिका रूपमा निम्ता दिइएकोमा सोमबारसम्म १३५ जना लगानीकर्ताको सहभागिता सुनिश्चित भएको बोर्डका प्रवक्ता उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार नेपालका ५६ जना, संयुक्त राज्य अमेरिकाका १५, भारतका १२, चीनका छ, कोरियाका पाँच र स्वीट्जरल्याण्ड, संयुक्त अधिराज्य, जापान तथा पाकिस्तानका तीन–तीन जनाको सहभागिता सुनिश्चित भएको छ । नेदरल्याण्ड, बहराइन, युरोपेली संघ, युनेस्को, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त अरब इमिरेट्सका दुईरदुईजनाको सहभागिता सुनिश्चित भएको छ । साउदी अरेबिया, फिलिपिन्स, मलेसिया, जर्मनी, रुस, नर्वे, माल्दिभ्स, थाइल्याण्ड, साइप्रस, इजिप्ट, श्रीलङ्का, अष्ट्रियालगायत देशका लगानीकर्ता पनि लगानी सम्मेलनमा भाग लिने सुनिश्चित भइसकेको लगानी बोर्डले जनाएको छ ।

    सम्मेलनमा केही उच्चस्तरीय प्रनिनिधिमण्डल पनि आउने तय भएको प्रवक्ता उपाध्यायले बताए । सम्मेलनका लागि पूर्वतयारीका कामसँगै लगानीकर्ता सम्मिलित ‘प्रि–इभेन्ट’ आयोजना भइरहेका छन् । भारत, चीन, बंगलादेशलगायत देशमा प्रि–इभेन्ट भइसकेको प्रवक्ता उपाध्यायले बताए । लगानी बोर्डको कार्यालय र सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासको सहकार्यमा यस्ता कार्यक्रमहरू आयोजना गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend