२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, चैत २० २०८०
  • 10.2K
    SHARES

  • images
    उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेटवार्ता


     काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको उल्लेख गरे ।

    मन्त्री भण्डारीले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवं निजी क्षेत्रसमेतलाई आग्रह गरे ।

    आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन पनि मन्त्री भण्डारीले आग्रह गरे ।

    नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयबीच व्यापार तथा लगानी प्रवद्र्धनको कार्यढाँचा स्थापना गर्न समझदारी पत्रको मस्यौदा कोरिया पक्षबाट नेपालले प्राप्त गरी सो मस्यौदामा अध्ययन तथा सरोकारवालासँग छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी गराए ।

    नेपाल र गणतन्त्र कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ एवं सुमधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै मन्त्री भण्डारीले जनस्तरमा समेत मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको बताए ।

    नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भ उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धको सम्झनास्वरुप ‘एभरेष्टिङ फ्रेन्डसिप’ नेपाल–कोरिया ५०औँ वर्षगाँठ अङ्कित लोगो सार्वजनिक भएकोमा दुःखी व्यक्त गरे ।

    कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (कोइका)मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्याएको योगदान नेपालका लागि महत्वपूर्ण रहेको मन्त्री भण्डारीले उल्लेख गरे । सो अवसरमा उहाँले अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा कोरिया सरकारसँग साझेदारी बिस्तारमा नेपाल प्रतिबद्ध रहेको बताए ।

    हालैका वर्षहरूमा दक्षिण कोरिया नेपाली युवाका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य बनेको र नेपाली युवाका लागि रोजगारीका अवसर तथा कोरियाको आर्थिक विकासमा नेपाली श्रमशक्तिको प्रयोगबाट दुवै देशले लाभ लिने अवस्थाको सिर्जना भएको मन्त्री भण्डारीले उल्लेख गरे ।

    पछिल्लो समयमा केही कोरियाली बहुराष्ट्रिय कम्पनीले नेपालमा लगानी बिस्तार गरेकामा खुसी व्यक्त गर्दै उनले लगानीका क्षेत्रमा दुई मुलुकबीच अपेक्षित रूपमा सहकार्य बिस्तार हुन नसकेको बताए । मन्त्री भण्डारीले आगामी दिनमा नेपालमा कोरियाली लगानी थप बिस्तार भई उत्पादन तथा रोजगारी अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गरे ।

    गणतन्त्र कोरियाले नेपाललगायतका अल्पविकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत शून्य भन्सार महसुलसहितको सहज बजार पहुँचको सुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै उनले सन् २०२६ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको सन्दर्भमा स्तरोन्नति पश्चात समेत सो सुविधाको निरन्तरताका लागि आग्रह गरे ।

    नेपाली उद्योगको क्षमता अभिवृद्धि तथा निर्यात प्रवद्र्धन गर्न निजी क्षेत्र लक्षित प्राविधिक सहायता बिस्तारका लागिसमेत मन्त्री भण्डारीले राजदूत तइयोङसित अनुरोध गरे ।

    सो अवसरमा राजदूत तइयोङले कोरियाली लगानीकर्ताले नेपालमा लगानी गर्न धेरै इच्छा देखाएकाले लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्री भण्डारीसित आग्रह गरे । उनले लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन पनि आग्रह गरे ।

    राजदूत तइयोङले मझौला उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न कोरिया सरकार तयार रहेको बताए । उनले सवारी साधनका पार्टपुर्जा ल्याउँदा र यहीँ ‘एसेम्बल’ गर्दा उही मूल्य पर्न जाने भएकाले भन्सार दर सहुलियत हुनुपर्नेमा धारणा राखे ।

    उनले ‘मेड इन नेपाल’प्रति कोरियाली जनता अति प्रभावित रहेकाले नेपाली मालसमानको निर्यातमा सघाउन कोरिया सरकार सकारात्मक रहेको जानकारी गराए । कोरिया सरकारले नेपाललाई दिँदै आएको सहुलियत सन् २०२६ पछि पनि प्राप्त गर्ने वातावरणका लागि कोरिया सरकारको अर्थ मन्त्रलयमा आफूले कुरा गर्ने उहाँले सो अवसरमा बताए ।इपिएस प्रणालीमार्फत कोरिया पुगेका कामदारलाई कोरिया सरकारले दक्ष सीप सिकाएर उनीहरुलाई नेपाल फर्केपछि उत्पादनसित जोड्न सकिने राजदूत तइयोङको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend